नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै

काठमाडाैं | चैत १६, २०७९

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौँ: लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । 

 

पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्को मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो । 

 

सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्कोतर्फ हुनेछ । ”

 

सडक विस्तारको गति बढाउन अहिले जनशक्ति थप गरिएको र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । अहिले गिटी बालुवा केही मात्रामा अहिले पनि पाइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन ।” 

 

तत्काल अरु समस्या अरु नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो । अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । यस विषयमा पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्याङ्कन गरेर टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो । 

 

काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझाबका आधारमा मात्रै थप हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ ।” विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । बाटो सजिलो हुन अझै केही समय लाग्नसक्ने प्रमुख शाक्यले बताउनुभयो । वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उहाँको भनाइ छ ।  दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो । गत वर्ष पनि एकदुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उहाँले बताउनुभयो ।  

 

निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन । निर्माण कम्पनीले सडकमा रहको बिभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको हो । विद्युतको पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको । उहाँले भन्नुभयो, “उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ ।” 

 

अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ । अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले अरु पक्षबाट बिभिन्न अवरोध भए पनि त्यो सबै सामाधन भइसकेको छ अब जसरी पनि कामको प्रगति बढाउनुपर्ने छ ।”

 

झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । 

 

सरकारले पूर्व–पश्चिम राजमार्ग एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढीसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्